फेसबुक, प्रेमसम्बन्ध र दुर्घटना

‘मेरो नवीनसँग नाता कायम गरिदिनका लागि मुद्दा लडिदिनुपर्‍यो ।’ एउटा प्रतिष्ठित संस्थानमा काम गर्ने २४ वर्षीया नीताले काठमाडौंको एउटा संस्थामा आएर उजुरी हालिन् ।

कुरा बुझ्दै जाँदा दुबईमा काम गर्ने एकजना नेपाली युवकसँग फेसबुकमार्फत भेट भएपछि उनीहरूबीच केही समयपछि प्रेमको आदन-प्रदान हुन पुग्यो । दुबईबाट छुट्टीमा घर आएका बेलामा उनीहरू एउटै घरमा सँगै बसे । नवीनलाई नीताले २० हजार रूपैयाँ पनि दिइन् ।

दुबई फर्केर गएपछि नवीनले नीतालाई वास्ता गर्न छाडे । उनको फोन पनि उठ्न छोड्यो । फेसबुकबाट पनि नीतालाई हटाए । अहिले नीता अदालतबाट आफ्नो सम्बन्ध कायम गराइदिन संस्थामा धाइरहेकी छन् ।

‘नविनले, फेसबुकमा लेखेको प्रेमको कविता, सँगै घुम्न जाँदा अङ्गालो मारेर खिचाएका फोटाकोे आधारमा मात्रै कसरी हाम्रो संस्थाले अदालतमा नाता कायम गर्नका लागि मुद्दा हाल्न मद्दत गर्ला र ?’ संस्थाकी अध्यक्षले मलाई सोधिन् । यसबेला कानुनको विषयमा जान्न महिलासँग यस विषयमा छलफल गर्न उपयुक्त हुने सुझावमात्र दिन सकें मैले ।

तर, नीताको यो घटना/दुर्घटनाले चाहिँ धेरै कुरा सोच्न विवश गरायो ।

को मान्छे, कस्तो मान्छे भनेर चिन्दै नचिनेर फेसबुकबाट नै प्रेम गर्ने र भेट गर्ने, शारीरिक सम्बन्ध राख्ने अनि सँगै मर्ने-बाँच्ने कसम र केही समयपछि सम्बन्ध विस्तारै कम गरेर एक-अर्काको जिन्दगीबाट हराउने प्रवृत्तिले युवक-युवती किशोर किशोरीहरूलाई धेरै नकारात्मक असर परेको छ । प्रेम हुनु भनेको नै यौन सम्बन्ध हुनु हो भन्ने मानसिकताले अहिलेको युवा-समाजलाई बेस्सरी गाँजेको छ ।

यौन सम्बन्ध भएपछि गर्भ रहनु त स्वाभाविक भयो । तर, अविवाहित किशोरीहरूलाई यस्तो सम्बन्धपछि गर्भपतन गराउन डाक्टरहरूको क्लिनिकमा जान्छन् ।

‘मलाई त छक्क लाग्छ (१०-११) कक्षा पढ्ने किशोरीहरू पनि गर्भपतन गराउन आउँछन् । चुइङगम चपाउँदै साथीहरू लिएर हाँस्दै गर्भपतन गराइदिनुपर्‍यो भनेर आउने किशोरीहरू मकहाँ पनि आउँछन् । मैले गर्भपतन त गराइदिन्छु र उनीहरूलाई परिवार नियोजनका बारेमा केही सल्लाह पनि दिन्छु । तर, उनीहरूले मेरो सल्लाह सुनेजस्तो लाग्दैन ।

एकजना छात्रा त दुई वर्षमा तीनचोटि गर्भपतन गराउन आइन् । तेस्रोचोटि आउँदा त अब तिम्रो गर्भपतन गर्न सक्दिनँ भनेँ । मलाई दुःख लाग्छ, यस्ता किशोरीहरू देखेर । तर, के गर्ने होला ?’

अहिलेका किशोर किशोरीहरूलाई प्रेमको, यौनको बारेमा सानो उमेरदेखि नै थाहा हुन्छ । र १५-१६ वर्षको उमेरमा यौन सम्बन्ध हुनु अहिले अचम्म मानिँदैन । ‘पहिले बालविवाह भनेर सानै उमेरमा यौन सम्बन्ध हुन्थ्यो, अहिले विवाह नराई नै यौन सम्बन्ध हुनु अचम्म के भो र ?’ एकजना जिल्लाका शिक्षकले भने ‘हाम्रा स्कुलमा पनि केटाकेटीहरू सानैमा प्रेम गर्छन् र यौन सम्बन्ध राख्छन् । कतिजना त घरबाट भाग्छन् र फेरि फर्केर घरै जान्छन् । खोई के भएको हो यस्तो ?’

जिल्लाका स्कुलमा जाँदा यस्ता कुराहरू धेरै सुनिन्छन् । आमाहरूसँग कुराकानी गर्दा ‘मोबाइल फोनले गर्दा केटाकेटीहरू प्रेम गर्छन् र भाग्छन् । यसलाई रोक्न सरकारले कदम चलाउन सक्दैन र ?’ भनेको पनि सुनिन्छ ।

अहिलेको बदलिँदो समाजमा माथि भनेका घटना, यौन सम्बन्ध, प्रेम, भागेर विवाह गर्ने, गर्भपतन गराउने, सम्बन्ध टुट्नु आदि अहिले विभिन्न ठाउँमा भएका समस्या हुन् । तर, यिनका बारेमा कुनै सामाजिक अध्ययन-अनुसन्धान भने भइरहेको छैन ।

हामीलाई प्रायः के लाग्छ भने यस्ता समस्याहरू ठूला शहरका मात्र होलान् । तर, सुदुर पश्चिमदेखि सुदुर पूर्वका जिल्लामा जाँदा विभिन्न ठाउँमा यस्तै घटना धेरै सुनिए । आमाहरू र शिक्षकहरूले मोबाइल फोन रोकेपछि यस्ता समस्या समाधान हुन्छ भन्ने विचार पनि दिए । तर, मोबाइल फोन रोक्न सकिने कुरा हो र ? अहिले त कतिपय सुदुरपश्चिमका जिल्लाहरूमा घरमा शौचालय नभए पनि मोबाइल फोन त प्रायः हुन्छ नै ।

अहिलेको समाजमा प्रविधिलाई रोक्न होइन कि प्रविधिको राम्रो तरिकाले प्रयोग कसरी पो गर्ने भनेर किशोरकिशोरीलाई ज्ञान दिनुपर्छ । घरमा र स्कुलमा राम्रा मार्गदर्शन नहुँदा सायद किशोर किशोरीहरू यसरी नक्कली प्रेम, यौन सम्बन्धको धरापमा पर्छन् । यस्ता सम्बन्धहरू टुटेपछि कतिजना त मानसिकरूपमा नै डिप्रेसनमा पुग्छन् भने कतिजना प्रेम सम्बन्ध भएपछि आत्महत्यासम्म गर्छन् ।

समाजका आइरहेका यी सबै परिवर्तन आत्मसात गरेर किशोरकिशोरी र युवालाई परामर्श दिने स्कुलमा व्यवस्था गरिएको छैन । यो समस्याको छलफल पनि सुरु भएको छैन ।

नीताजस्ता धेरै युवती प्रेममा फसेर यौन सम्बन्ध राख्छन् । अनि विनाकुनै प्रमाण नाता सम्बन्ध कायम गराईपाउँ भनेर अदालतमा मुद्दा हाल्न चाहन्छन् । जो एकैछिनको आवेश वा मनलाई प्रेम ठान्छन् र सजिलैसँग कुनै बदमासको जालमा फसिहाल्छन् ।

एक वर्षअघि जति सुदुरपश्चिममा प्रजनन स्वास्थ्यका बारेमा स्कुलमा छलफल गर्दा किशोर अवस्थामा नै प्रेम सम्बन्ध राख्दा पर्ने समस्याहरूको बारेमा एकजना किशोरीले भनिन्, ‘हाम्रो शरीरमा हाम्रो अधिकार हुन्छ भनेर भन्ने अनि किशोरी अवस्थामा यौन सम्बन्ध राख्न हुन्न भन्ने ? यौन सम्बन्ध राख्नु के हाम्रो अधिकार होइन र ?’

ती किशोरीको कुरा सुनेर म छक्क परें र भनेँ, ‘अधिकार सँगसँगै दायित्व पनि आउँछ । अधिकारका बारेमा छलफल गर्दा आफूलाई हानी हुने गरेर अधिकारको प्रयोग गर्नु त भएन । किशोर अवस्थामा नै यौन सम्बन्ध राखेपछि हुने विभिन्न समस्या छन् । गर्भ रहन गयो भने, असुरक्षित गर्भ रहन गयो भने असुरक्षित गर्भपतनले गर्दा हुने समस्या हुन्छ । फेरि जोसँग प्रेम गरेर यौन सम्बन्ध भयो, त्यो पछिसम्म रहिरहन्छ भन्न सकिन्न । अपरिपक्व अवस्थामा भएको आकर्षणलाई प्रेम भन्न सकिन्न । पछि अन्यसँग प्रेम हुन सक्छ ।’

मैले भनेका कुराहरूले ती किशोरीको चित्त त कति बुझ्यो वा बुझेन भन्न गाह्रो छ, तर ती किशोरीको प्रश्नले मलाई सोच्न बाध्य गरायो । अहिले सायद अधिकारको बारेमा छलफल गरिरहँदा हामीले कर्तव्यबोध गराउने बिर्स्यौँ कि ?

पहिलेकै अवस्थामा यो समाज फर्कियोस् भनेर हामीले चाहना राख्न सक्दैनौं । तर, किशोर किशोरीलाई सम्बन्धको महत्त्व यौन सम्बन्ध राख्दा त्यो सँगै के-के दायित्व आउँछन् भनेर त बुझाउनुपर्छ । किशोरीहरूलाई गर्भपतन गराउनु कानुनीरूपमा मान्य भएता पनि गर्भवतन जथाभावी गराउनुचाहिँ शारीरिकरूपले हानी गर्ने सम्भावना छ भनेर बुझाउनैपर्छ । उनीहरूलाई ‘इमर्जेन्सी पिल’ भनेको चक्लेट खाएजस्तो होइन । यसको जथाभावी प्रयोगले हानी गर्छ भनेर बुझाउनैपर्छ । किशोरहरूले महिलाको शरीरलाई जसरी खेलाए पनि हुन्छ भन्ने मानसिकता नआओस् भनेर छलफल गर्नुपर्छ ।

अहिले नै फेसबुक प्रेम, यौन आकर्षक, प्रजनन स्वास्थयको बारेमा छलफल गरिएन भने थुप्रै किशोरीहरू डाक्टरकहाँ गर्भपतन गराउन आइ नै रहनेछन् । थुप्रै किशोरीहरू प्रेम, आकर्षण र यौन सम्बन्धको एउटै हो भन्ने ठानिरहन्छन् ।

अब त आमाबुबाले छोराछोरीलाई घरबाट नै यसबारेमा थाहा दिनुपर्ने बेला आएको छैन र ? स्कुल , कलेज आएका शिक्षक-शिक्षिकाहरूले परामर्श दिनुपर्ने बेला आएको छैन र ?

Commun khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *